वीरेन्द्रनगरमा एलपी ग्यास अभाव नभएको निगमको दाबी
नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नरहेको जनाएको छ। निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा ग्यास नियमित रूपमा आयात भइरहेको छ।
निगम सुर्खेतका प्रमुख दीपककुमार घिमिरेले अभाव हुने त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्दा बजारमा वितरणमा केही प्रभाव परेको बताए।
उपभोक्ताको सहजताका लागि ‘एक व्यक्ति, एक सिलिन्डर’ व्यवस्था लागू गरी अधिकृत बिक्रेतामार्फत विभिन्न कम्पनीका २ हजार ९२२ वटा १४.२ केजीका सिलिन्डर प्रतिगोटा २ हजार ६० रुपैयाँमा बिक्री गरिने निगमले जनाएको छ।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र तोकिएको मूल्यभन्दा बढी रकम असुली वा अनधिकृत भण्डारण भए तत्काल जानकारी गराउन आग्रह गरेको छ।