निर्मल पुर्जाको खोजीमा मिङ्मा डेभिड शेर्पासहित तीन सदस्यीय टोली पाकिस्तान जाने
काठमाडौं — पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहितका आरोहीहरूको खोजी तथा उद्धारका लागि नेपालबाट मिङ्मा डेभिड शेर्पासहित तीन सदस्यीय टोली पाकिस्तान जाने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसमेत रहेका शेर्पा निर्मल पुर्जाको कम्पनी ‘इलाइट एक्सपिडिसन’का साझेदार हुन्। उनले शुक्रबार कतार हुँदै पाकिस्तान प्रस्थान गर्ने जानकारी दिएका छन्। टोलीमा उच्च हिमाली क्षेत्रमा उडानको अनुभव भएका एक पाइलट पनि सहभागी हुनेछन्।
शेर्पाका अनुसार बेलायतबाट पनि केही उद्धारकर्मी पाकिस्तानतर्फ प्रस्थान गरिसकेका छन्। साथै, के–टु हिमालको शिखरतर्फ रहेको इलाइट एक्सपिडिसनको टोलीले आफ्नो आरोहण योजना रद्द गरी ब्रोड पिकतर्फ लागेको छ।
उनले खोजीका लागि हेलिकप्टर ब्रोड पिक क्षेत्रमा पुगेको भए पनि अझै फर्किन नसकेको बताए। मौसम अनुकूल रहेकाले सकारात्मक नतिजाको अपेक्षा गरिएको उनको भनाइ छ।
शेर्पाले स्याटेलाइट डाटामा अझै पनि निर्मल पुर्जाको गतिविधि देखिएको दाबी गर्दै सकारात्मक खबरको प्रतीक्षा गरिरहेको बताए।
निर्मल पुर्जासहित ६ नेपालीसहित १० जनाको टोली बिहीबार ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेको थियो। हालसम्म बेपत्ता आरोहीमध्ये चार जनाको शव फेला परिसकेको छ भने बाँकीको खोजी तथा उद्धार कार्य जारी छ।