देशभर २४ घण्टामा ७१ विपद् घटना, दुई जनाको मृत्यु र दुई बेपत्ता
काठमाडौं — देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका छन्। ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, वन तथा घाँसे आगलागीलगायतका विपद्का घटनाबाट १३ जना घाइते भएका छन्। यस्तै, विभिन्न घटनामा परेका ३६५ जनाको उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गरिएको छ।
समीक्षा अवधिमा सबैभन्दा धेरै पहिरोका घटना भएका छन्। प्राधिकरणका अनुसार देशभर ३० वटा पहिरोका घटना दर्ता भएका छन्। पहिरोका कारण एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
त्यस्तै, ११ वटा बाढीका घटना भएका छन्। बाढीका कारण एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्राधिकरणले जनाएको छ।
पछिल्लो २४ घण्टामा ११ वटा सर्पदंशका घटना, आठ वटा वन तथा घाँसे आगलागी, पाँच वटा आगलागी, चार वटा जनावर आक्रमण तथा दुई वटा हावाहुरीका घटना पनि दर्ता भएका छन्।
विपद्का घटनाबाट करिब १६ लाख ३५ हजार रुपैयाँ बराबरको अनुमानित भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ। यद्यपि यस अवधिमा सडक अवरोधसम्बन्धी कुनै घटना नरहेको बुलेटिनमा उल्लेख छ।
निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढिरहेको भन्दै प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई मौसम तथा स्थानीय प्रशासनको सूचनामा ध्यान दिनसमेत आग्रह गरिएको छ।