इरानी आक्रमणका प्रयास विफल पारेको बहराइन र कुवेतको दाबी
मनामा/कुवेत सिटी: बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयास आफ्ना हवाई प्रतिरक्षा प्रणालीमार्फत विफल पारेको दाबी गरेका छन्। अमेरिका–इरानबीच बढ्दो सैन्य तनावका बीच दुवै देशले पछिल्लो घटनाबारे जानकारी सार्वजनिक गरेका हुन्।
होर्मुज जलसन्धिमा ओमानतर्फ जाने जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जलक्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका–इरानबीचको कमजोर युद्धविराम थप संकटमा परेको बताइएको छ। त्यसयता दुवै पक्षबीच आक्रमण र प्रतिआक्रमण जारी रहेको जनाइएको छ।
अमेरिकी ‘फिफ्थ फ्लीट’ तैनाथ रहेको बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रक्षेपण गरिएका धेरै हवाई आक्रमणका प्रयासलाई रोक्दै नष्ट गरेको जनाएको छ। कुवेतको सेनाले पनि इरानबाट आक्रमण भएको पुष्टि गरेको छ।
यसअघि सोमबार इरानको रिभोलुसनरी गार्ड्सले कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको दाबी गरेको थियो।
बहराइनको राजधानी मनामामा रहेका एएफपी संवाददाताका अनुसार साइरन बजेसँगै विस्फोटका आवाज सुनिएका थिए। बहराइनस्थित अमेरिकी दूतावासले इरानबाट मनामाका केही स्थानलाई लक्षित गरी आक्रमण हुन सक्ने सम्भावित जोखिमबारे सूचना प्राप्त भएको जनाएको छ।
दूतावासले बहराइनमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन, स्थानीय अधिकारीको निर्देशन पालना गर्न र सुरक्षा सूचनामा ध्यान दिन आग्रह गरेको छ।
यसै महिनामा अमेरिका र इरानबीच युद्धविराम तथा समझदारी भएको भनिए पनि त्यसपछि पुनः तनाव चर्किएको छ। अमेरिकी सैन्य उपस्थितिका कारण कुवेत र बहराइन इरानी आक्रमणको सम्भावित निशानामा रहेको विश्लेषण गरिएको छ।
बहराइनले इरानमाथि सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएको छ भने कुवेतले पानी, विद्युत् उत्पादन केन्द्र तथा तेलसम्बन्धी पूर्वाधारमा आक्रमण भएको जनाएको छ। यद्यपि, यी आरोपबारे इरानको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।