लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं — लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको आरोप लगाउँदै युवाहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृति लिएर मात्र विज्ञापन खोल्ने वा पदपूर्ति गर्नुपर्ने व्यवस्था गरिएको भन्दै प्रदर्शनकारीहरूले आयोगको स्वायत्ततामाथि अंकुश लगाइएको बताएका छन्।
उनीहरूले सचिवस्तरीय उक्त निर्णय तत्काल खारेज गर्न र हाल कार्यरत करार कर्मचारीमध्ये १० प्रतिशतलाई मात्र कार्यसम्पादनका आधारमा निरन्तरता दिई बाँकी पद खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले लोकसेवा आयोगले विज्ञापन नखोले परीक्षार्थीहरूको मिहिनेत र तयारी प्रभावित हुने भन्दै आफ्नो हक–अधिकारका लागि आन्दोलनमा सहभागी हुन सबै परीक्षार्थीलाई आग्रह गरेका छन्।