मनसुन सक्रिय: आज पनि देशका विभिन्न क्षेत्रमा वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं — देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपास रहेकाले देशभर मौसम बदली भएको हो।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज रातिसमेत देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, कोशी र मधेस प्रदेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा बागमती, गण्डकी तथा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातसहित दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सतर्क रहन र विभागबाट जारी हुने पछिल्ला मौसम बुलेटिन नियमित रूपमा पछ्याउन सबैमा आग्रह गरिएको छ।