केमिकल अभावले चितवनको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा एक महिनादेखि ठप्प
बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावका कारण एक महिनादेखि प्रयोगशाला सेवा ठप्प भएको छ। बजेट अभावमा आवश्यक केमिकल खरिद गर्न नसक्दा सेवा सञ्चालन गर्न नसकिएको प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीका अनुसार गत आर्थिक वर्षमा केमिकल खरिदका लागि विनियोजन गरिएको बजेट अपुग हुँदा सेवा प्रभावित भएको हो। कार्यालयका सूचना अधिकारी रमेश डोवालले सेवा बन्द भएपछि दैनिक आउने बिरामीको संख्या पनि उल्लेखनीय रूपमा घटेको बताए।
आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेटबाट गत वर्षको बाँकी भुक्तानी गरी मधुमेह, सिबिसी, युरिक एसिड र पिसाबजस्ता अत्यावश्यक परीक्षण मात्रै सञ्चालन गरिने जनाइएको छ। प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुरमा उच्चस्तरीय सरकारी प्रयोगशालाको आवश्यकता रहेको बताएका छन्।