सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो
काठमाडौं — नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ८४ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार एक औँस सुन ४ हजार ७६ अमेरिकी डलर र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।