भारतमा विद्यार्थी आन्दोलन चर्कियो: शिक्षा मन्त्रीको राजीनामा माग्दै प्रदर्शन
भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड, छरिएका चस्मा, च्यातिएका कपडा र रगतका टाटा देखिएका छन्। सोमबार भारतीय संसद् भवनअगाडि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हजारौँ विद्यार्थी र प्रहरीबीच झडप हुँदा राजधानीका प्रमुख सडकहरू तनावग्रस्त बनेका छन्। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले अश्रुग्यास प्रहार र बल प्रयोग गरेको आरोप छ, जसका कारण १०० भन्दा बढी विद्यार्थी घाइते भएको दाबी गरिएको छ।
व्यापक धरपकड र दमनका बाबजुद आन्दोलनकारी विद्यार्थीहरू आन्दोलनबाट पछि हट्न तयार छैनन्। ‘ककरोच जनता पार्टी’को आह्वानमा भएको प्रदर्शनमा सहभागी १८ वर्षीय विद्यार्थी अंशुल देवले सरकारमाथि आफ्नै नागरिकप्रति दमनकारी व्यवहार गरेको आरोप लगाउँदै आन्दोलन जारी रहने बताएका छन्।
पछिल्ला दुई महिनादेखि भारतका विभिन्न प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा प्रश्नपत्र चुहावट (पेपर लिक) र उत्तरपुस्तिकाको गलत मूल्याङ्कन भएको आरोपमा लाखौँ विद्यार्थी आन्दोलनरत छन्। आन्दोलनकारीका अनुसार यिनै घटनासँग जोडिएको मानसिक तनावका कारण २० भन्दा बढी विद्यार्थीले आत्महत्या गरेका छन्। उनीहरूले शिक्षा मन्त्रीको राजीनामा, अनशनरत अभियन्ता सोनम वाङचुकको अस्पतालबाट रिहाइ तथा मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
यसैबीच, विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको निवासबाहिर अन्य सांसदहरूसँग धर्ना दिँदै नागरिकलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्। सरकार र आन्दोलनकारीबीच भएको वार्ता भने निष्कर्षविहीन बनेको छ। आन्दोलनकारी पक्षका प्रवक्ता आशुतोष रङ्काले स्वास्थ्य मन्त्री जेपी नड्डासँगको वार्ता चार घण्टा पर्खाएर अन्ततः केवल १० मिनेटमा सीमित गरिएको भन्दै त्यसलाई समयको बर्बादी भएको बताएका छन्।
उता प्रहरीले आन्दोलनकारीविरुद्ध तोडफोड र हिंसाका आरोपमा पाँच वटा मुद्दा दर्ता गरेको जनाएको छ। आन्दोलनका नेता अभिजीत दिप्केले भने शिक्षा मन्त्रीको राजीनामा र आन्दोलनका माग पूरा नभएसम्म प्रदर्शन नरोकिने स्पष्ट पारेका छन्।