कलंकी–बसुन्धारा चक्रपथ खण्ड निर्माण दसैँ–तिहारपछि सुरु हुने
काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत दोस्रो चरणको ८.२ किलोमिटर लामो कलंकी–बसुन्धारा खण्डको निर्माण कार्य दसैँ–तिहारपछि सुरु हुने भएको छ।
योजना प्रमुख आशिका पोखरेलका अनुसार अन्तिम डिजाइन स्वीकृत भएपछि चिनियाँ पक्षले चीनमै टेन्डर प्रक्रिया पूरा गरी निर्माण अघि बढाउने तयारी गरेको छ।
हाल परियोजनाअन्तर्गत एक्सप्रेस–वे बाहिरको सर्भिस लेन निर्माण नेपाली स्रोतबाट भइरहेको छ। उक्त काम करिब ८० प्रतिशत सम्पन्न भएको र केही स्थानमा कालोपत्रे गर्न मात्र बाँकी रहेको जनाइएको छ।
मुख्य सडक निर्माणका लागि चिनियाँ पक्षले प्रारम्भिक डिजाइन पेस गरिसकेको छ भने नेपाल पक्षले आवश्यक सुझाव दिइसकेको छ। साइट क्लियरेन्स, कोभिड–१९ लगायतका कारण परियोजना ढिलाइ भएको बताइएको छ।
परियोजनाको प्रारम्भिक लागत करिब १२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो। अन्तिम डिजाइन र संशोधित लागत विवरण आएपछि वास्तविक लागत सार्वजनिक गरिने योजना प्रमुख पोखरेलले बताइन्।