नक्साल बाल गृहबाट २० बालबालिकाको उद्धार
नक्सालस्थित नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालयमा रहेको बाल गृहबाट २० जना बालबालिकाको आकस्मिक उद्धार गरी पुनःस्थापना गरिएको छ।
बालबालिका जोखिममा रहेको सूचनापछि साउन २ गते गरिएको अनुगमनका क्रममा १५ दिनदेखि २ वर्ष उमेर समूहका १२ बालक र ८ बालिकालाई उद्धार गरिएको हो। बाल गृहमा ढल पसेर भवनभित्र पानी जमेको र बालबालिकाको स्वास्थ्य तथा संरक्षणमा जोखिम देखिएपछि तत्काल उद्धार गरिएको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ।
महिला, बालबालिका मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोजतलास समन्वय केन्द्र १०४, बाल हेल्पलाइन १०९८ लगायतको टोलीले उद्धार गरेको हो। परिषद्ले बाल गृह सञ्चालनका लागि तोकिएका मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ।