ब्रोड पिकमा अस्ताए ‘युक्त’: नेपाली पर्वतारोहणले गुमायो एक साहसी आरोही
काठमाडौं — गोरखाको दुर्गम गाउँ लाप्राकबाट सुरु भएको पुरबहादुर गुरुङ ‘युक्त’को हिमाल यात्रा अन्ततः पाकिस्तानको ब्रोड पिकमा आएर टुंगिएको छ। विश्वका अग्ला हिमालहरूमा नेपाली झण्डा फहराउँदै अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका युक्तको ब्रोड पिकमा आएको हिमपहिरोमा निधन भएको पुष्टि भएको छ।
पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार हिमपहिरो गएपछि विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ नेतृत्वको टोली सम्पर्कविहीन भएको थियो। पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार शुक्रबार फेला परेका शवमध्ये एक गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी पुरबहादुर गुरुङको रहेको पुष्टि भएको छ। घटनामा ओमानकी आरोही नधिरा अहमद अब्दुल्लाह अल हार्थीको पनि मृत्यु भएको छ।
पर्वतारोहण क्षेत्रमा ‘युक्त’ नामले परिचित गुरुङ एलिट एक्स्पेड कम्पनीका सिनियर माउन्टेन गाइड थिए। उनी निर्मल पुर्जाका भरपर्दा सहयोगी तथा अनुभवी उच्च हिमाली गाइडका रूपमा परिचित थिए।
१७ वर्षको उमेरदेखि पर्वतारोहणमा सक्रिय भएका उनले सन् २०११ मा २२ वर्षकै उमेरमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसयता उनले १० पटक सगरमाथा आरोहण गर्दै शेर्पा समुदायबाहेक सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने नेपालीको कीर्तिमान कायम गरेका थिए। उनी गुरुङ समुदायबाट सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने पहिलो व्यक्ति पनि हुन्।
सगरमाथासँगै उनले मनास्लु, अन्नपूर्ण, ल्होत्से, मकालु, कञ्चनजंघा, के–टु, ब्रोड पिक, ग्यासरब्रुम–१ र ग्यासरब्रुम–२ लगायत विश्वका अधिकांश आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। हालसम्म उनले २८ पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरेका थिए।
२०८० सालमा उनले केवल १२ दिनभित्र ग्यासरब्रुम–२, ग्यासरब्रुम–१, ब्रोड पिक र विश्वकै दोस्रो अग्लो के–टु आरोहण गरेर उल्लेखनीय कीर्तिमान बनाएका थिए। साथै, के–टु सफलतापूर्वक आरोहण गर्ने गुरुङ समुदायका पहिलो व्यक्ति बनेका थिए।
अनुभव, संयमता र नेतृत्व क्षमताका कारण विदेशी आरोहीहरूबीच समेत सम्मानित युक्त भविष्यमा अन्तर्राष्ट्रिय माउन्टेन गाइडको उच्च मान्यता प्राप्त गर्ने लक्ष्यमा थिए। तर, जीवनभर हिमालसँगै बिताएका उनी अन्ततः हिमालकै काखमा सदाका लागि विलीन भएका छन्।
युक्त गुरुङको निधनसँगै नेपाली पर्वतारोहण क्षेत्रले एक कुशल गाइड, साहसी आरोही र अनुभवी हिमालकर्मी गुमाएको छ। उनले हासिल गरेका कीर्तिमान र नेपाली पर्वतारोहणमा पुर्याएको योगदान भने भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहनेछ।