बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दो, ४५ हजारले खोले टिएमएस खाता
नेपालगञ्ज: बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलेका छन्। प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढेको हो।
इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख उदय अधिकारीका अनुसार प्रविधिको सहज पहुँचका कारण लगानीकर्ताले जहाँबाट पनि शेयर कारोबार गर्न सक्ने भएकाले टिएमएस प्रयोगकर्ताको संख्या बढ्दै गएको छ।
उनका अनुसार बाँकेमा हालसम्म ६२ हजार ७९६ जनाले हितग्राही (डिम्याट) खाता खोलेका छन्। तीमध्ये ३७ हजार ३०० पुरुष, २५ हजार ४५९ महिला र ३७ जना अन्य रहेका छन्। कुल खातामध्ये करिब १० प्रतिशत निष्क्रिय रहेका छन्।
अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट डिम्याट खाता खोल्ने सुविधा सहज बनेको र शेयर बजारबारे जनचेतना गाउँ–गाउँसम्म विस्तार हुँदै गएकाले नयाँ लगानीकर्ता थपिने क्रम तीव्र भएको बताए। उनका अनुसार अहिले नयाँ लगानीकर्ताले शेयर कारोबार सुरु गर्नुअघि सबैभन्दा पहिले टिएमएस सेवाको खोजी गर्ने गरेका छन्।
लगानीकर्ता कुलप्रसाद शर्माले धेरैले प्राथमिक सार्वजनिक निष्कासन (आईपिओ) मा आवेदन दिनकै उद्देश्यले डिम्याट खाता खोल्ने गरेको बताए। उनले वास्तविक लगानीभन्दा पनि देखासिकी गर्ने प्रवृत्तिले समेत डिम्याट खाताको संख्या बढाउन योगदान पुर्याएको उल्लेख गरे।
हाल नेपालगञ्जमा इम्पेरियल सेक्युरिटिज, कालिका सेक्युरिटिज र प्राइमो सेक्युरिटिजमार्फत शेयर कारोबार हुँदै आएको छ। बाँकेसँगै बर्दिया, दाङ, कैलाली, कालीकोट र जुम्लालगायत जिल्लाका लगानीकर्ताले पनि नेपालगञ्जलाई शेयर कारोबारको प्रमुख केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन्।