कोलम्बो सम्मेलनमा प्रचण्डले प्रस्तुत गरे समाजवाद निर्माणको राजनीतिक रूपरेखा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवाद निर्माणको राजनीतिक रूपरेखा प्रस्तुत गरेका छन्।
इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका उपलब्धि, चुनौती र त्यसबाट सिक्नुपर्ने पाठबारे धारणा राखे।
उनले बदलिँदो विश्व शक्ति सन्तुलन र महाशक्तिबीचको प्रतिस्पर्धाबीच असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा आवश्यकता रहेको बताए।
तीन दिनसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय राजनीति, वामपन्थी आन्दोलन, समाजवादी निर्माणलगायत विषयमा छलफल भइरहेको छ। सम्मेलनका क्रममा प्रचण्डले एसियाली तथा ल्याटिन अमेरिकी वामपन्थी नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा वैचारिक कार्यपत्र प्रस्तुत गरेका छन्।