प्रदेश सत्ता सहकार्यबारे प्रचण्ड–ओली सक्रिय, निकट नेतासँग छुट्टाछुट्टै छलफल
काठमाडौं — प्रदेशको नयाँ सत्ता समीकरणबारे छलफल अगाडि बढाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकट नेताहरूसँग छुट्टाछुट्टै परामर्श थालेका छन्।
मंगलबार दुई नेताबीच करिब दुई घण्टा भएको भेटवार्तामा सत्ता सहकार्यका विषयमा प्रारम्भिक छलफल भएको थियो। यद्यपि सहकार्यको मोडालिटी र मापदण्डबारे अझै ठोस सहमति नभएको प्रचण्डनिकट स्रोतले जनाएको छ।
एमाले अध्यक्ष ओलीका सचिवालय सदस्य निरू पालका अनुसार दुई नेताबीच संवादलाई निरन्तरता दिने सहमति भएको छ। उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र सम्भावित सहकार्यका विषयमा छलफल भएको थियो।
भेटपछि प्रचण्ड मधेश पुगेका छन् भने त्यहीँबाट निकट नेताहरूसँग अनौपचारिक छलफल गरिरहेका छन्। उता ओलीले पनि आफ्ना निकट नेताहरूसँग परामर्शलाई तीव्र बनाएका छन्।
स्रोतका अनुसार सम्भावित वाम सहकार्यका लागि एमालेका तर्फबाट महेश बस्नेत तथा माओवादी केन्द्रका तर्फबाट प्रकाश ज्वाला र वर्षमान पुनलगायत नेताहरू सक्रिय रूपमा समन्वयमा जुटेका छन्।