नवलपुरमा नमूना सदरमुकाम निर्माणले गति लियो, १४ भवन निर्माणाधीन
नवलपुर — देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको कामले गति लिएको छ। सङ्घ र प्रदेश सरकारका अधिकांश कार्यालय एउटै प्रशासनिक परिसरमा सञ्चालन गर्ने उद्देश्यसहित कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्माण भइरहेको हो।
नेपालको संविधान–२०७२ अनुसार नवलपरासी विभाजनपछि बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका लागि करिब १८४ बिघा क्षेत्रफलमा आयोजना अघि बढाइएको हो। २०७६ वैशाख ७ गते शिलान्यास गरिएको आयोजना २०८१ सालपछि तीव्र गतिमा अघि बढेको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका अनुसार पहिलो चरणमा दुई वटा ठेक्कामार्फत १४ वटा भवन निर्माण भइरहेको छ। पहिलो ठेक्काअन्तर्गत चौधरी कन्स्ट्रक्सनले जिल्ला प्रशासन कार्यालय र दुई वटा एकीकृत प्रशासनिक भवन निर्माण गरिरहेको छ। २७ करोड रुपैयाँ लागतको उक्त काममा हाल ५० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको छ।
एकीकृत प्रशासनिक भवनमा हुलाक, आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक, जिल्ला निर्वाचन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइलगायत कार्यालय सञ्चालन हुनेछन्। जिल्ला अदालत, जिल्ला समन्वय समिति र सशस्त्र प्रहरी बलका लागि समेत छुट्टाछुट्टै भवन निर्माण भइरहेको छ।
दोस्रो ठेक्काअन्तर्गत समानान्तर–बुद्ध हिमाली जेभीले सिटी हलसहित ११ वटा भवन, सडक, खानेपानी, विद्युत्, तटबन्ध र पर्खाल निर्माण गरिरहेको छ। ३ अर्ब ५० करोड रुपैयाँको उक्त ठेक्कामा हाल ४२ प्रतिशत भौतिक र ४० प्रतिशत वित्तीय प्रगति भएको छ।
आयोजना सम्पन्न भएपछि २३ मिटर चौडाइका सडक, फुटपाथ, साइकल लेन, सडक बत्ती, पार्क, हरियाली क्षेत्र र करिब ८ किलोमिटर आन्तरिक सडक सञ्जाल निर्माण हुने जनाइएको छ। पहिलो चरणमा ५०० क्षमताको सिटी हल, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत तथा अन्य सङ्घीय कार्यालय सञ्चालनमा आउनेछन्।
गुरु योजनाअनुसार प्रशासनिक, न्यायिक, सुरक्षा र सार्वजनिक सेवा क्षेत्र छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ। कर्मचारी आवास, अतिथि गृह, पुस्तकालय, सभाहल, पार्किङ, खेलमैदानलगायत संरचना निर्माण गर्ने योजना पनि रहेको छ।
कुल ४५ वटा सरकारी भवन निर्माण गर्ने लक्ष्य राखिएको आयोजनामा ६० प्रतिशत क्षेत्र कङ्क्रिटरहित र २१.५९ प्रतिशत क्षेत्र खुला राखिनेछ। पार्किङ क्षेत्रमा एकैपटक ९५० कार र १०० बस पार्किङ गर्न सकिने व्यवस्था गरिनेछ।