पछिल्लो २४ घण्टामा ७३ प्राकृतिक प्रकोपका घटना, दुईको मृत्यु र एक बेपत्ता
काठमाडौं — अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढिरहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ७३ वटा प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्म बाढी, पहिरो, अविरल वर्षा, सर्पदंश, आगलागी तथा वन्यजन्तु आक्रमणका घटना भएका हुन्।
प्राधिकरणका अनुसार उक्त अवधिमा २६ जिल्लामा पहिरोका ४० वटा घटना दर्ता भएका छन्। पहिरोमा परी कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ धाँमीगाउँका ४६ वर्षीय मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको मृत्यु भएको छ। दुवै जना घट्टमा पीठो पिस्न गएका बेला पहिरोमा पुरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
यस्तै, १० जिल्लामा बाढीका १४ वटा घटना भएका छन्। मकवानपुरमा बाढीका कारण एक जना स्कुटरसहित बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
यसैगरी, आठ जिल्लामा अविरल वर्षाका १२ वटा घटना, सर्पदंशका चार, आगलागीको एक तथा वन्यजन्तु आक्रमणका तीन वटा घटना दर्ता भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर रहेका ३८० वर्षा मापन केन्द्रमध्ये २७८ केन्द्रमा वर्षा रेकर्ड गरिएको छ। तीमध्ये ८३ केन्द्र मानव सञ्चालित र २९७ केन्द्र स्वचालित छन्।
गत २४ घण्टामा चितवनस्थित नारायणी फिल्ड अफिस केन्द्रमा सबैभन्दा बढी ३१९.८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। सो क्षेत्र आसपासका तीन स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। विभागका अनुसार देशभरका २६ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ।
निरन्तर वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहिरो जाने तथा सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।