मिटरब्याज पीडितको न्याय मार्च चौथो दिनमा, काठमाडौँतर्फ यात्रा जारी
जनकपुरबाट असार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ। आफ्ना माग पूरा गराउन र राज्यको ध्यानाकर्षण गराउन सुरु गरिएको यात्रा काठमाडौँ नपुगी नरोकिने आयोजकहरूले बताएका छन्।
न्यायको माग गर्दै सयौँ सहभागीले ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौँ जान पर्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर मार्चमा सहभागिता जनाएका छन्।
पीडितहरूले दैनिक करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै राजधानीतर्फ अघि बढिरहेका छन्। सरकारले पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै दबाब सिर्जना गर्न पुनः काठमाडौँ केन्द्रित आन्दोलन गर्नुपरेको आयोजकको भनाइ छ। उनीहरू करिब एक साताभित्र काठमाडौँ पुग्ने लक्ष्यमा छन्।