डा. गोविन्द केसी र सरकारबीच आज पुनः वार्ता हुँदै
धनगढी — शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारबीच आज पुनः वार्ता हुँदैछ।
आइतबार करिब १२ घण्टा चलेको वार्तामा सहमतिको मस्यौदा तयार भए पनि केही प्राविधिक विषय टुंगो लाग्न नसक्दा अन्तिम सहमति हुन सकेको थिएन। दुवै पक्षबीच सोमबार बिहान १० बजे निर्णायक वार्ता गर्ने सहमति भएको थियो।
वार्तामा विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको जिम्मेवारी व्यवस्थापन, निजी मेडिकल कलेजमा सिट वृद्धि तथा अन्य मागका विषयमा छलफल भइरहेको छ। डा. केसीले विवादित नियुक्ति खारेज गर्नुपर्ने अडान राख्दै आएका छन्।
सरकार पक्ष रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई जिम्मेवारीमुक्त गर्न सकारात्मक देखिएको बताइएको छ भने उपकुलपति डा. सुनिलप्रसाद जोशीको विषयमा छलफल जारी छ।
डा. केसीले चिकित्सा शिक्षा सुधार, गैरकानुनी नियुक्ति खारेजी, विगतका सहमति कार्यान्वयन र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार विस्तारलगायतका माग राख्दै गत बिहीबारदेखि धनगढीमा आमरण अनशन सुरु गरेका हुन्। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखिएको छ।