बजार अनुगमनमा दुई फर्मलाई जरिवाना, १० व्यवसायीलाई सुधार गर्न निर्देशन
काठमाडौं — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई जरिवाना गरेको छ।
विभागका अनुसार खरिद बिल–बिजक नराखेको पाइएपछि किसु चमेनागृहलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ उल्लङ्घन गरेको भन्दै सोही ऐनको दफा ३८(घ) बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको हो।
त्यस्तै, काठमाडौंको जडीबुटीस्थित क्याल्मेरा अटाएर प्रालिलाई पनि अनुगमनका क्रममा कैफियत भेटिएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
विभागले कुल १२ वटा उद्योग तथा व्यावसायिक फर्ममा अनुगमन गरेकोमा १० वटालाई भने आवश्यक सुधार गर्न निर्देशन दिएको छ।
विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उद्योग तथा व्यवसायहरूको नियमित अनुगमन गर्दै आवश्यक निर्देशन र कारबाही गरिँदै आएको छ। बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको बिक्री–वितरण रोक्न तथा बिल–बिजक जारी गर्ने व्यवस्था प्रभावकारी बनाउन विभागले नियमित अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।