बिपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, मुकेशबहादुर पाल प्रथम
काठमाडौं — नेपाली कांग्रेसले संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ। ललितपुरस्थित युएन पार्कबाट सुरु भएको पाँच किलोमिटर दौडमा मुकेशबहादुर पाल १६ मिनेट १५.७ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम बने। उनले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो, सञ्जय श्रेष्ठ तेस्रो, गणेश सिंह चौथो, अमृत ठकुरी पाँचौँ र नागेश्वर अहिर छैटौँ भए। उनीहरूलाई क्रमशः २५ हजार, २० हजार, १२ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार प्रतियोगितामा झण्डै १,४०० जनाले नाम दर्ता गराएका थिए। धावन मार्ग छोडेर दौडेका कारण महिला प्रतियोगीहरूको प्रतिस्पर्धा भने पुनः गराइने भएको छ। पार्टीका सभापति गगन थापा पनि प्रतियोगितामा सहभागी भएका थिए।
दौडपछि जलवायु परिवर्तनसम्बन्धी छलफल तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा सभापति थापाले जलवायु परिवर्तनबारे सचेतना मात्र नभई ठोस संकल्प आवश्यक रहेको बताए। सहभागीहरूलाई विभिन्न प्रजातिका बिरुवा पनि वितरण गरिएको कांग्रेसले जनाएको छ।
यसैबीच, कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ। सभापति थापाका अनुसार हाल कोषमा १० लाख रुपैयाँ जम्मा भएको छ र यसबाट घरबारविहीन एकल महिला तथा बालबालिकालाई सहयोग गरिनेछ। कोष र अन्य पार्टी कार्यक्रमबारे विस्तृत जानकारी बिहीबार राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सार्वजनिक गरिने जनाइएको छ।