बालिकामाथि जबरजस्ती करणीको आरोपमा सहकारीका सीईओ पक्राउ
दाङ — तुलसीपुरमा एक होटलमा कार्यरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी धनीराम भण्डारी (डिआर) विरुद्ध रजौरास्थित एक होटलमा कार्यरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी दर्ता भएको हो।
प्रहरीका अनुसार घटना मंगलबार राति करिब १० बजेको समयमा भएको थियो। पीडितले प्रतिकार गर्दै चिच्याएपछि घटना बाहिर आएको र आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरीलाई खबर भएको थाहा पाएपछि भण्डारी बा.प्र.०१–०३३ च ३९९३ नम्बरको गाडी लिएर फरार हुने प्रयास गरेको र सो क्रममा रजौरानजिकै कार दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार भएका उनलाई प्रहरीले खोजी गरी बुधबार बिजौरी क्षेत्रबाट पक्राउ गरेको हो।
पीडित पक्षले भण्डारीविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरिसकेको छ। पीडितको उमेर १८ वर्षभन्दा कम हुन सक्ने आशंका गरिए पनि प्रहरीले आधिकारिक पुष्टि गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनामा भण्डारीसँगै रहेका अर्का एक व्यक्तिलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।