नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो
विश्व बाघ दिवसको अवसरमा सार्वजनिक गरिएको पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले सार्वजनिक गरेको २०८२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १४५ बाघ रहेका छन्।
यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटामा ५० बाघ रहेको गणनाले देखाएको छ। सन् २०२२ को गणनामा नेपालमा ३५५ बाघ रहेकामा पछिल्लो गणनामा संख्या बढेको हो।
संरक्षण क्षेत्रको व्यवस्थापन, बासस्थान सुधार र सिकार प्रजातिको वृद्धिले बाघको संख्या बढाउन सहयोग पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा सन् २००९ देखि प्रत्येक चार वर्षमा बाघ गणना हुँदै आएको छ।