‘मास्टर्नी’को प्रचार गीत बन्द गर्न शिक्षक महासंघको माग
काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली चलचित्र ‘मास्टर्नी’को ‘म्याथ सिक्ने भए...’ बोलको प्रचारात्मक गीत तत्काल बन्द गर्न माग गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमार्फत महासंघले उक्त गीतले महिला शिक्षक र गणित विषयको गरिमामाथि प्रहार गरेको भन्दै चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा गीतमा प्रयोग भएका शब्द र भाव अमर्यादित रहेको उल्लेख गर्दै निरन्तरता दिएमा उत्पन्न हुने परिणामको जिम्मेवारी निर्माता तथा कलाकारले लिनुपर्ने चेतावनी दिइएको छ।
५ भदौदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘मास्टर्नी’को उक्त गीत मंगलबार सार्वजनिक भएको थियो। गीतलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेका बेला चलचित्रकी निर्माता तथा कलाकार प्रियंका कार्कीले भने गीतलाई मनोरञ्जनका रूपमा लिन आग्रह गरेकी छन्।