मनी लाउण्डरिङ मुद्दामा दीपक भट्ट र शुलभ अग्रवालको हिरासत म्याद थप
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालको हिरासत म्याद थप गरिएको छ।
विशेष अदालतले सोमबार भट्टको आठौँ पटक र अग्रवालको नवौँ पटक ३–३ दिनका लागि हिरासत म्याद थप गरेको हो। अदालतको प्रशासन शाखाका अनुसार न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा दीपक भट्टलाई चैत १८ गते ललितपुरबाट र शुलभ अग्रवाललाई चैत २१ गते पक्राउ गरिएको थियो। हाल भट्ट प्रहरी वृत्त बौद्ध र अग्रवाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन्।
अनुसन्धानका क्रममा हिमालयन रिइन्स्योरेन्ससँग सम्बन्धित वित्तीय कारोबारसमेत छानबिनको दायरामा आएको जनाइएको छ।
यता, लामो समयदेखि हिरासतमा रहेका अग्रवालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पटक–पटक अस्पताल भर्ना गरिएको थियो। उपचारपछि उनलाई पुनः हिरासतमा राखिएको छ।
सम्बन्धित निकायका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ।