चालु आर्थिक वर्षमा विपद्जन्य घटनाबाट १०५ जनाको मृत्यु, ६०५ घाइते
चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि असार ५ गतेसम्म देशभर भएका विभिन्न विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु भएको छ भने ६०५ जना घाइते भएका छन्। यस अवधिमा ३,०१२ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै ७३६ वटा आगलागीका घटना भएका छन्, जसमा १६ जनाको मृत्यु र ८९ जना घाइते भएका छन्। चट्याङका ४५२ घटनामा १३ जनाको मृत्यु भएको छ भने सर्पदंशका २६९ घटनामा १४ जनाले ज्यान गुमाएका छन्।
तथ्यांकअनुसार लेक लाग्ने (उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्या) सम्बन्धी ५३ घटनामा २१ जनाको मृत्यु भएको छ, जुन एकल विपद्का रूपमा सबैभन्दा बढी हो। बाढी, पहिरो, हावाहुरी, वन्यजन्तु आक्रमण तथा वन डढेलोका घटनाले पनि जनधनको क्षति पुर्याएका छन्।
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ र सर्पदंशका घटना बढ्न सक्ने भएकाले सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।