डीडीसी उत्पादन प्रवर्द्धनमा सरकारको जोड, मन्त्रिपरिषद्मा विशेष छलफल
काठमाडौं । सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्ने नीति अन्तर्गत दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको प्रवर्द्धन र बजार विस्तारमा विशेष चासो देखाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको डीडीसीका उत्पादनहरूको देशव्यापी प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको सुदृढीकरणबारे गहन छलफल भएको हो।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बैठकमा डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने विषय उठाएकी थिइन्। उनले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानलाई थप प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।
मन्त्री चौधरीले नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारबाट आवश्यक सहयोग हुनुपर्नेमा जोड दिइन्। सो अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादनहरूको प्याकेजसमेत वितरण गरेकी थिइन्।
बैठकमा प्रधानमन्त्री शाहले पनि डीडीसीका उत्पादनहरूको प्रवर्द्धन र स्वदेशी वस्तुको उपभोग बढाउनुपर्नेमा जोड दिएका थिए। उनले स्वदेशी उत्पादनको प्रयोगमार्फत नेपाली किसान र उद्योगलाई टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।
लामो समयदेखि शुद्ध तथा गुणस्तरीय दूध, घिउ, दही, पनिर र चिजलगायतका दुग्धजन्य उत्पादन उपभोक्तामाझ उपलब्ध गराउँदै आएको डीडीसीको प्रवर्द्धन अभियानलाई सरकारको सक्रिय समर्थनले थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।