वीर अस्पताल र ट्रमा सेन्टरको चिकित्सकीय नियुक्तिमा अनियमितताको आरोप, अख्तियारमा उजुरी
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा गरिएको चिकित्सकीय पदहरूको नियुक्ति प्रक्रिया कानुनविपरीत भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
डा. अमित झाद्वारा दर्ता गरिएको उजुरीमा मेडिकल अफिसर, कन्सल्ट्यान्टलगायतका पदमा नियुक्ति गर्दा खुला प्रतिस्पर्धा, सार्वजनिक सूचना र आवश्यक कानुनी प्रक्रिया पालना नगरिएको दाबी गरिएको छ।
उजुरीमा केही व्यक्तिहरूलाई राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध वा प्रभावका आधारमा नियुक्त गरिएको आशंका व्यक्त गरिएको छ। साथै विगतका वर्षहरूमा भएका सबै चिकित्सकीय नियुक्तिहरूको विस्तृत छानबिन गर्न माग गरिएको छ।
उजुरीकर्ताले सार्वजनिक सूचना, छनोट प्रक्रिया, दरबन्दी स्वीकृति तथा करार र ज्यालादारी नियुक्तिको दुरुपयोगबारे पनि अनुसन्धान गर्न आग्रह गरेका छन्। साथै अनियमित नियुक्ति भएको प्रमाणित भएमा सम्बन्धित पदाधिकारीमाथि कारबाही गर्न माग गरिएको छ।
यसैगरी, भविष्यमा सबै स्वास्थ्य संस्थामा पारदर्शी र प्रतिस्पर्धात्मक नियुक्ति प्रणाली लागू गर्न निर्देशन दिन पनि अख्तियारसँग अनुरोध गरिएको छ।