प्रधानमन्त्रीको अनुपस्थितिपछि विपक्षी दल रणनीति बनाउन जुटे
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर विवादित अभिव्यक्तिबारे जवाफ दिन तयार नभएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरू नयाँ रणनीति बनाउन जुटेका छन्।
यसै सन्दर्भमा मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ। बैठकमा संसद्को अवरोध, प्रधानमन्त्रीको जवाफदेहिता तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ।
प्रधानमन्त्री शाहले जेठ १७ गते नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको थियो। उक्त विषयमा प्रधानमन्त्रीले हालसम्म माफी मागेका छैनन् भने संसद्मा उपस्थित भएर स्पष्ट जवाफसमेत दिएका छैनन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि आर्थिक विधेयकमा तोडमोड गरेको आरोपलाई प्रमुख रूपमा उठाएका थिए।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री तत्काल संसद्मा उपस्थित नहुने जानकारी दिइएको थियो। त्यस अवसरमा प्रधानमन्त्रीको तर्फबाट आफूले नै जवाफ दिने लामिछानेको भनाइ रहेको बताइएको छ।
तर मंगलबारको बैठकमा पनि प्रधानमन्त्री उपस्थित नभएपछि विपक्षी दलहरूले थप दबाब सिर्जना गर्ने रणनीतिबारे छलफल थालेका हुन्।
विपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख डीपी अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका छन्। विपक्षीको बहुमत रहेको राष्ट्रिय सभामा पनि अवरोध जारी रहेको छ।