सेनेगलको फराकिलो जित, नकआउट सम्भावना जीवित
फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा सेनेगलले इराकलाई ५–० गोलले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ।
टोरन्टोमा शनिबार बिहान भएको खेलमा सेनेगलका पापे गुएले दुई तथा हबिब डियारा, इस्माइला सार र इलमान न्डियाएले एक–एक गोल गरे। खेलको १३औँ मिनेटमै इराकका रेबिन सुलाकाले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको इराकले कुनै गोल फर्काउन सकेन।
जितसँगै सेनेगलले तीन खेलबाट ३ अंक जोड्दै समूहमा तेस्रो स्थान हासिल गरेको छ। अब नकआउट चरणमा स्थान सुरक्षित गर्न उसले अन्य समूहका नतिजा कुर्नुपर्नेछ। यता, तीनवटै खेलमा पराजित इराक भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। समूहबाट फ्रान्स समूह विजेता र नर्वे उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका छन्।