कम्युनिस्ट एकतामा ढिलाइ गर्नु ठूलो गल्ती हुन्छ : प्रचण्ड
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट शक्तिबीच सकेसम्म चाँडो एकता र कार्यगत सहकार्य आवश्यक रहेको बताएका छन्।
आइतबार ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नभए पनि कार्यगत सहकार्य आजैदेखि सुरु गर्नुपर्नेमा जोड दिए। विचार मिल्ने शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने उनको भनाइ थियो।
प्रचण्डले वर्तमान सरकारले संविधानका आधारभूत मान्यता र उत्पीडित समुदायमाथि प्रहार गरिरहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि कम्युनिस्ट शक्तिको बलियो एकता आवश्यक रहेको बताए। उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्न सबै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।