ओमान तट नजिक जहाजमा भएको अमेरिकी आक्रमणमा तीन भारतीय नाविकको मृत्यु
नयाँदिल्ली, २८ जेठ — ओमान तट नजिक व्यापारिक जहाजमाथि भएको अमेरिकी आक्रमणमा तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायात मन्त्री सर्वानन्द सोनोवालले पुष्टि गरेका छन्।
मन्त्री सोनोवालका अनुसार पलाउको झण्डा बोकेको एमटी सेटेबेलो नामक जहाजमा भएको आक्रमणपछि बेपत्ता भएका तीन भारतीय चालक दलका सदस्य मृत अवस्थामा फेला परेका हुन्। उनले घटनालाई अत्यन्त दुःखद र पीडादायी भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
घटनापछि भारतको विदेश मन्त्रालयले नयाँदिल्लीस्थित एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएर औपचारिक विरोध जनाएको छ। यस घटनाले भारत–अमेरिका कूटनीतिक सम्बन्धमा नयाँ तनाव थपिएको बताइएको छ।
यो साताभित्र भारतीय चालक दल रहेका व्यापारिक जहाजमाथि भएको दोस्रो अमेरिकी आक्रमण भएको जनाइएको छ। यसअघि जुन ८ मा ओमानका अधिकारीहरूले पलाउ झण्डावाहक ट्यांकर एमटी मारिभेक्सबाट २४ भारतीय नाविकलाई सुरक्षित रूपमा उद्धार गरेका थिए।
सार्वजनिक तस्बिरहरूमा आक्रमणपछि जहाजबाट बाक्लो धुवाँ निस्किरहेको र चालक दलका सदस्यहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको देखिएको थियो।
मन्त्री सोनोवालले शोकाकुल परिवारप्रति सरकारको पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गर्दै उद्धार गरिएका चालक दलका सदस्यलाई शीघ्र स्वदेश फर्काउने र मृतकका पार्थिव शरीर पनि यथाशीघ्र भारत ल्याउने तयारी भइरहेको जानकारी दिए।
घटनाले अन्तर्राष्ट्रिय समुद्री मार्गमा व्यापारिक जहाज र चालक दलको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ, विशेषगरी बढ्दो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तनावका बीच समुद्री यातायात थप जोखिमपूर्ण बन्दै गएको विश्लेषण गरिएको छ।