क्यान्सर उपचारमा नयाँ आशा: ‘अमिभान्तामाब’ इन्जेक्सनको उत्साहजनक नतिजा
एजेन्सी । क्यान्सर उपचारको क्षेत्रमा चिकित्सकहरूले महत्वपूर्ण प्रगति भएको दाबी गरेका छन्। हालै गरिएको क्लिनिकल परीक्षणमा परम्परागत उपचार प्रभावहीन भएका बिरामीहरूमा समेत ट्युमर घटाउने वा पूर्ण रूपमा हटाउने परिणाम देखिएको हो।
जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको ‘अमिभान्तामाब’ नामक नयाँ इन्जेक्सन ११ देशमा गरिएको परीक्षणपछि क्यान्सर उपचारमा सम्भावनायुक्त विकल्पका रूपमा देखा परेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
‘ट्रिपल–एक्सन’ उपचार विधिका रूपमा वर्णन गरिएको यो औषधिले शरीरभर फैलिएको क्यान्सरका ट्युमरलाई समेत लक्षित गरी प्रभाव पार्ने प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिएको छ।
अनुसन्धानमा किमोथेरापी र इम्युनोथेरापीले काम नगरेका बिरामीहरूलाई सहभागी गराइएको थियो। १०२ जना सहभागीमध्ये ४३ जनामा उल्लेखनीय सुधार देखिएको छ भने २८ जनामा ट्युमरको आकार महत्वपूर्ण रूपमा घटेको पाइएको छ। सबैभन्दा महत्वपूर्ण उपलब्धि १५ जना बिरामीमा देखिएको हो, जसमा क्यान्सरका ट्युमर पूर्ण रूपमा हराएको पुष्टि गरिएको अनुसन्धानकर्ताहरूले जनाएका छन्।
लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्च (ICR) का प्राध्यापक केभिन ह्यारिङ्टनले यो नतिजालाई अभूतपूर्व भन्दै क्यान्सर उपचारको क्षेत्रमा नयाँ आशा जगाउने संकेत भएको टिप्पणी गरेका छन्।
उनका अनुसार परम्परागत उपचारप्रति प्रतिरोध देखाएका बिरामीहरूमा समेत यस्तो प्रभाव देखिनु अत्यन्त दुर्लभ घटना हो र आगामी परीक्षण सफल भएमा यो उपचार हजारौँ बिरामीका लागि उपयोगी हुन सक्छ।
यो अध्ययन मुख्यतः टाउको तथा घाँटीको क्यान्सरमा केन्द्रित थियो, जुन विश्वमा छैटौँ सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये पर्छ। विशेष गरी एचपीभी–नेगेटिभ प्रकारका जटिल बिरामीहरूमा समेत सकारात्मक प्रभाव देखिएको बताइएको छ।
अमिभान्तामाबले क्यान्सर कोषिकाको वृद्धि नियन्त्रण गर्ने EGFR प्रोटिनलाई निष्क्रिय पार्ने, MET नामक जैविक मार्ग रोक्ने तथा शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने तीनवटा संयन्त्रमार्फत काम गर्ने बताइएको छ।
विशेषज्ञहरूका अनुसार यो ‘ट्रिपल–एक्सन’ प्रभावका कारण अन्य उपचारभन्दा बढी प्रभावकारी देखिएको हो। साथै, यो उपचार छालामुनि सुईमार्फत दिइने भएकाले अस्पतालमा लामो समय बस्न नपर्ने र साइड इफेक्ट पनि तुलनात्मक रूपमा कम रहेको प्रारम्भिक अध्ययनले देखाएको छ।
हाल यो उपचार फोक्सो, पेट, मलाशय र मस्तिष्क क्यान्सरलगायत विभिन्न प्रकारमा समेत परीक्षण चरणमा रहेको छ। करिब ६० वटा क्लिनिकल ट्रायल जारी रहेका छन्।
यद्यपि अनुसन्धानकर्ताहरूले यसलाई तत्काल ‘क्यान्सरको पूर्ण उपचार’ भनेर घोषणा गर्न नहुने चेतावनी दिएका छन्। दीर्घकालीन प्रभाव र सुरक्षा सुनिश्चित गर्न अझै थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ।
(द गार्जियनबाट)