दिल्लीमा कालापानीको कुरा किन उठेन ? रवि लामिछानेलाई भीष्मराज आङ्देम्बेको प्रश्न
काठमाडौं — नेपाली काङ्ग्रेसका सांसद भीष्मराज आङ्देम्बे ले रवि लामिछाने को भारत भ्रमणमाथि प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले लामिछानेले दिल्ली भ्रमणका क्रममा नेपाल–भारत सीमा विवाद र कालापानीको विषयमा कुनै चर्चा नगरेको आरोप लगाए। उनले नेपाल फर्किएपछि सिमानाको विषयमा सार्वजनिक टिप्पणी गरे पनि भारतमा रहँदा उक्त मुद्दा नउठाएको भन्दै प्रश्न गरेका हुन्।
“भारत भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नेपाल फर्केर आउनुभयो। नेपाल फर्किएपछि सिमानाको विषयमा ढोल बजाएर छलफल हुन सक्दैन भन्नुभयो। तर दिल्लीमा छँदा सिमानाको ‘स’ र कालापानीको ‘क’ पनि उच्चारण नगरी किन फर्किनुभयो ?” आङ्देम्बेले संसद्मा प्रश्न गरे।
उनले सीमा समस्याजस्तो संवेदनशील विषयमा केवल सार्वजनिक अभिव्यक्तिभन्दा पनि सम्बन्धित पक्षसँग प्रत्यक्ष रूपमा कुरा उठाउनुपर्ने धारणा व्यक्त गरे। साथै, सिमानाको विषय ‘ढोल बजाएर’ समाधान नहुने कुरामा आफूहरू सहमत भए पनि भ्रमणका क्रममा त्यसबारे मौन रहनुको कारण स्पष्ट हुनुपर्ने बताए।