स्विट्जरल्याण्डमा अमेरिका–इरान वार्ता सुरु, युद्ध अन्त्य र आणविक विषय मुख्य एजेन्डा
काठमाडौं — अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा नयाँ चरणको वार्ता आइतबारदेखि सुरु हुने भएको छ।
इरानका सभामुख मोहम्मद बगेर गलिबाफ नेतृत्वको टोलीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विट्जरल्याण्ड पुगिसकेका छन्। वार्तामा राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नर पनि सहभागी हुने बताइएको छ।
यसअघि शुक्रबार हुने तय भएको वार्ता अन्तिम समयमा स्थगित भएको थियो। हाल इसराइल र हिजबुल्लाहबीच युद्धविराम भएपछि वार्ताको वातावरण बनेको जनाइएको छ।
समझदारीपत्रअनुसार अमेरिका, इरान र इसराइलबीच लेबननसहित सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा अन्त्य गर्ने विषयमा सहमति हुने अपेक्षा गरिएको छ। साथै स्ट्रेट अफ हर्मुज खुलाउने, तथा ६० दिनभित्र दीर्घकालीन शान्ति सम्झौतामा पुग्ने लक्ष्य राखिएको छ।
वार्तामा इरानको आणविक कार्यक्रम, प्रशोधित युरेनियम र क्षेत्रीय सुरक्षा विषयहरू प्रमुख एजेन्डा रहने बताइएको छ।