इरानको आरोप: अमेरिका–इजरायल युद्धमा नाटो प्रत्यक्ष संलग्न
तेहरान — इरानले अमेरिका–इजरायलबीचको सैन्य कारबाहीमा उत्तर अटलान्टिक सन्धि सङ्गठन (नाटो) प्रत्यक्ष रूपमा संलग्न भएको आरोप लगाएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नाटो महासचिव मार्क रुटको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन भएको युद्धमा गठबन्धनको संलग्नताको स्वीकारोक्ति भएको दाबी गरेका छन्।
नाटो प्रमुख रुटले एक अमेरिकी टेलिभिजन अन्तर्वार्तामा केही सदस्य राष्ट्रहरूले अमेरिकी सैन्य अभियानलाई सहयोग गरेको उल्लेख गरेका थिए। उनका अनुसार इटालीस्थित अमेरिकी सैन्य आधारहरू प्रयोग गर्दै सयौँ अमेरिकी विमानहरू सञ्चालन भएका थिए भने रोमानियाले पनि केही पूर्वाधार उपलब्ध गराएको थियो।
इरानले यसलाई संयुक्त राष्ट्रसङ्घीय बडापत्रको उल्लङ्घन भन्दै कडा आपत्ति जनाएको छ।
यसैबीच इटालीले भने नाटो प्रमुखको दाबीप्रति असहमति जनाउँदै आफ्ना विमानस्थलबाट अनुमति दिइएका उडानहरू केवल प्राविधिक र रसद प्रयोजनका लागि मात्र भएको स्पष्ट पारेको छ।
यो विवादसँगै इरान र पश्चिमी देशहरूबीचको तनाव अझ बढ्ने संकेत देखिएको छ।