प्रधानमन्त्रीको लिखित जवाफ माग्दै हर्क साम्पाङको अडान, संसद् बैठकमा विवाद जारी
काठमाडौं, असार २६ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले लिखित रूपमा हस्ताक्षर गरेर पठाएको जवाफ मात्र स्वीकार्य हुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको सट्टा मन्त्रीले दिएको जवाफ स्वीकार नगर्ने स्पष्ट अडान राखे।
संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूभाग मिचेको भन्ने अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण विपक्षी दलहरूले लगातार अवरोध गरिरहेका छन्। सोही विवादका कारण आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पछि २ बजे सारिएको थियो।
बैठक सुरु भएपछि बोल्दै हर्क साम्पाङले परराष्ट्रमन्त्रीले दिने जवाफ आफूहरूलाई स्वीकार्य नहुने बताए। उनका अनुसार, प्रधानमन्त्रीले लिखित रूपमा हस्ताक्षर गरेर पठाएको जवाफ परराष्ट्रमन्त्रीले सदनमा वाचन गरे मात्र विवाद समाधान हुन सक्छ।
साम्पाङले संसद्मा बोल्दै वर्तमान अवस्थालाई लक्षित गर्दै गम्भीर प्रश्न पनि उठाए। उनका अनुसार, एउटाले गल्ती गर्ने र अर्कोले सच्याउने अभ्यास न्यायोचित नहुने भन्दै उनले यस्तो प्रक्रियाले संसदीय प्रणालीमै प्रश्न उठ्ने अवस्था सिर्जना गरेको टिप्पणी गरे।
उनले संविधान, कानुन र संसदीय अभ्यासप्रति पनि प्रश्न उठाउँदै भने, “संविधान असफल हो कि हाम्रो कानुन असफल हो, हामी असफल हौँ कि हाम्रो सदन असफल हो?” भन्दै व्यवस्था र व्यवहार दुवैप्रति व्यङ्ग्य गरे।
साम्पाङले आफ्नो भनाइलाई कविता शैलीमा प्रस्तुत गर्दै प्रधानमन्त्रीप्रति व्यङ्ग्यात्मक टिप्पणी समेत गरेका थिए। संसद् बैठकमा उठेका यी विवादले राजनीतिक सहमति र संसदीय प्रक्रिया दुवैमा दबाब बढाएको देखिएको छ।