सुशासन र आर्थिक विकासमा सरकार प्रतिबद्ध : मन्त्री खनाल
ललितपुर, २१ जेठ २०८३ — शिशिर खनाल ले सरकार सुशासन र द्रुत आर्थिक विकासको लक्ष्य हासिल गर्न प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित विकास बहससम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री खनालले नागरिकहरूको परिवर्तनप्रतिको आकाङ्क्षा पूरा गर्न सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
उनले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्य हासिल गर्न मूर्त र दिगो विकास साझेदारीका प्रयासहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राखे। साथै, अन्तर्राष्ट्रिय विकास साझेदारहरूको संलग्नतामार्फत नेपालको राष्ट्रिय हितलाई प्रवर्द्धन गरिने पनि उनले बताए।
मन्त्री खनालका अनुसार विकास साझेदारसँगको सहकार्य सुदृढ पार्ने, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने तथा क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा नेपालको प्राथमिकता र आवाजलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने कार्यमा सरकार केन्द्रित छ।
“हाम्रा नागरिकका अपेक्षा फेरिएका छन्। ती आकाङ्क्षा पूरा गर्न परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्न आवश्यक छ,” उनले भने, “समृद्धिको साझा लक्ष्य प्राप्तिका लागि सरकार नयाँ ऊर्जा र सहकार्यका साथ अघि बढिरहेको छ।”
उनले स्थानीय सरकारलाई थप सशक्त बनाएर मात्र सामाजिक संघसंस्थाहरूको कामलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै दिगो शान्ति, विकास र समृद्धिका राष्ट्रिय प्रयासलाई सहयोग पुग्ने गरी विकास साझेदार संस्थाहरूले भूमिका खेल्नुपर्ने बताए।