बेलायती प्रधानमन्त्री किर स्टार्मरले दिए राजीनामा
लन्डन, ८ असार — बेलायतका प्रधानमन्त्री तथा लेबर पार्टीका नेता किर स्टार्मरले सोमबार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। पार्टीभित्र बढ्दो असन्तुष्टि, नीतिगत यू–टर्न र घट्दो जनसमर्थनका बीच उनले नेतृत्वबाट हट्ने निर्णय गरेका हुन्।
लन्डनस्थित १० डाउनिङ स्ट्रिट बाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताएका छन्।
“मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरेको हुँ। त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु,” उनले भावुक हुँदै भने।
स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाई ९ देखि सुरु हुनेछ। नयाँ नेता चयन नभएसम्म उनी प्रधानमन्त्रीको जिम्मेवारीमा रहनेछन्। पार्टीले सेप्टेम्बरसम्म नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।
सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ऐतिहासिक जित दिलाउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकाल विभिन्न नीतिगत परिवर्तन, आन्तरिक विवाद तथा घट्दो लोकप्रियताका कारण चुनौतीपूर्ण बनेको थियो।
हाल पूर्व ग्रेटर म्यानचेस्टर मेयर एन्डी बर्नहमलाई स्टार्मरको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ। स्टार्मरको राजीनामासँगै बेलायती राजनीतिमा नयाँ नेतृत्वको बहस तीव्र बनेको छ।