युक्रेनका विभिन्न क्षेत्रमा रूसी आक्रमण, ३ जनाको मृत्यु
युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास कमजोर बन्दै गएसँगै रूस र युक्रेन बीच हवाई तथा ड्रोन आक्रमण तीव्र भएको जनाइएको छ।
युक्रेनको दक्षिणी सहर खेरसनमा भएको ड्रोन आक्रमणमा ७५ वर्षीय एक वृद्धको मृत्यु भएको सहरको सैन्य प्रशासन प्रमुख यारोस्लाव सान्कोले बताएका छन्।
जापोरिझियामा भएको अर्को ड्रोन आक्रमणमा एक महिलाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका आपतकालीन सेवाले जनाएको छ।
त्यस्तै, निप्रोपेट्रोभस्कको पाभ्लोग्राड जिल्लामा रूसी ड्रोन र गोलाबारीका कारण एक महिलाको मृत्यु भएको क्षेत्रीय गभर्नर ओलेक्सान्डर गान्जाले टेलिग्राममार्फत पुष्टि गरेका छन्।
उत्तरपूर्वी युक्रेनको कोनोटोप सहरमा भएको आक्रमणमा तीन बालबालिका घाइते भएको मेयर आर्टेम सेमेनिखिनले बताएका छन्।
रूसको रक्षा मन्त्रालयले १२३ वटा युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ भने युक्रेनको वायुसेनाले रातभर १९८ रूसी ड्रोन नष्ट गरिएको जनाएको छ।
सन् २०२२ देखि जारी युद्धका क्रममा रूसले युक्रेनको दक्षिण र पूर्वी भूभाग कब्जा गर्दै आएको छ।