प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ बहुमतले पारित
काठमाडौं, असार १४ — प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ बहुमतले पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो।
विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले आगामी आर्थिक वर्षदेखि बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने र पुँजीगत खर्च कम हुने अवस्थाको अन्त्य गर्ने लक्ष्य लिएको बताए।
उनले सरकारले लगाएको करबाट न्यून आय भएका नागरिक प्रभावित नहुने स्पष्ट पार्दै अर्थतन्त्र सुधारका लागि ल्याइएको महत्त्वाकाङ्क्षी बजेटको सकारात्मक प्रभाव आगामी वर्षदेखि देखिन सुरु हुने विश्वास व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले मूल्य अभिवृद्धि कर (भ्याट) को बहुदर प्रणालीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने र समितिको सिफारिसका आधारमा आवश्यक निर्णय लिइने जानकारी दिए।
बजेट खर्च मुख्यतः आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने उल्लेख गर्दै उनले राजस्व संकलनमा समस्या आए आपतकालीन व्यवस्था अपनाउन सकिने बताए।
राइड सेयरिङ व्यवसायको कारोबार अर्बौं रुपैयाँ पुगेको उल्लेख गर्दै मन्त्री वाग्लेले उक्त क्षेत्रलाई पनि करको दायरामा ल्याउन आवश्यक नीति बनाइँदै रहेको जानकारी दिए।
आर्थिक विधेयकमाथि दर्ता भएका केही संशोधन प्रस्ताव फिर्ता भएका छन् भने अधिकांश संशोधन अस्वीकृत भएका छन्। यद्यपि केही संशोधन प्रस्ताव भने स्वीकार गरिएको छ।