सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, महावीर पुनलाई नवप्रवर्द्धन मन्त्रालय
काठमाडौं । गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। शपथ ग्रहणका लागि उनी मंगलबार शीतल निवास पुगेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन अध्ययन नगरी नै गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको भन्दै प्रश्न उठ्न थालेको छ।
अच्युतम् भण्डारी नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन मंगलबार मात्रै मन्त्रिपरिषद्मा पेश गरेको थियो। प्रतिवेदनमाथि विस्तृत अध्ययन र छलफल हुनुअघि नै गुरुङलाई गृह मन्त्रालयमा फर्काउने निर्णय गरिएको स्रोतहरूले बताएका छन्।
यसैबीच, विज्ञान तथा नवप्रवर्द्धन मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनले पाउने भएका छन्। पुन पनि शपथ ग्रहणका लागि शीतल निवास पुगिसकेका छन्।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुनलाई यसपटक विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन क्षेत्रको नेतृत्व दिइएको हो।
नवनियुक्त मन्त्रीहरूको शपथसँगै मन्त्रिपरिषद्ले केही समयदेखि रिक्त रहेका मन्त्रालयहरूको जिम्मेवारी पूर्ण गर्ने अपेक्षा गरिएको छ।