ट्राफिक नियम उल्लङ्घनमा एकै दिन २,०२५ चालक कारबाहीमा
काठमाडौं, असार १
काठमाडौँ उपत्यकामा एकै दिन ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा २,०२५ सवारीचालकलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट राज्यकोषमा रु १० लाख ४८ हजार पाँच सय राजस्व सङ्कलन भएको छ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०० जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०७ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने १३६ जना र तीव्र गतिमा सवारी चलाउने १६५ जनालाई कारबाही गरिएको हो।
यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने ५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०९ जना, सडक पेटीमा पार्किङ गर्ने १०५ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ११७ जनालाई पनि कारबाही गरिएको छ।
अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १,१२८ जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।