विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
काठमाडौं । विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले जेठ २६ गते मंगलबार दिउँसो १ बजे बैठक बस्ने समय निर्धारण गरेका हुन्।
यसअघि सोमबार बसेको बैठक विपक्षी दलका सांसदहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो। विपक्षी सांसदहरूले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए।
विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन्। माग सम्बोधन नभएसम्म सदनको अवरोध जारी रहने संकेत विपक्षी दलहरूले दिएका छन्।
सदनको अवरोधका कारण संसद्को नियमित कार्यसूची प्रभावित भएको छ।