जोर्डनले इरानका २० मिसाइल आकाशमै खसालेको दाबी
काठमाडौं । जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका २० वटा मिसाइललाई आफ्नो हवाई रक्षा प्रणालीमार्फत आकाशमै नष्ट गरेको दाबी गरेको छ। सरकारी समाचार एजेन्सी पेट्राका अनुसार एक सैन्य अधिकारीले मिसाइलहरूलाई बीचमै रोकेर निष्क्रिय पारिएको बताएका हुन्।
सैन्य स्रोतका अनुसार मिसाइलहरू नष्ट भएपछि तिनका केही अवशेष जमिनमा खसेका थिए। यद्यपि घटनाबाट कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको जोर्डनले जनाएको छ।
सेनाको इन्जिनियरिङ टोलीले खसेका अवशेषहरूको निरीक्षण गरी तिनमा कुनै विस्फोटक पदार्थ बाँकी नरहेको सुनिश्चित गरेको पनि अधिकारीहरूले बताएका छन्।
यसअघि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले जोर्डनस्थित अमेरिकी अल-अजराक सैन्य अखडालाई लक्षित गर्दै लगातार दोस्रो रात मिसाइल आक्रमण गरेको दाबी गरेको थियो।
अमेरिकाले इरानमाथि व्यापक हवाई हमला गरेपछि त्यसको जवाफस्वरूप इरानले मिसाइल प्रहार गरेको बताइएको छ। मध्यपूर्वमा बढ्दो तनावका बीच पछिल्ला घटनाक्रमले क्षेत्रीय सुरक्षा चुनौती थप जटिल बन्न सक्ने संकेत गरेका छन्।