बालेन्द्र शाहको सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको सदस्य पदका लागि असिम शाह, सुदीप ढकाल र प्रकृति ढकालले उम्मेदवारी दिएका छन्। उनीहरू सबै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सचिवालयसँग आबद्ध रहेका व्यक्तिहरू हुन्।
प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार असिम शाहले खुला मुस्लिम समावेशीतर्फबाट, सुदीप ढकालले खुलातर्फबाट र प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
उनीहरूलाई वैकल्पिक राजनीतिक शक्ति बीच सहकार्य, सुशासन, प्रशासन सुधार, नीति निर्माण र संगठन विस्तारमा सक्रिय भूमिकामा रहेको व्यक्तिका रूपमा प्रस्तुत गरिएको छ।
सुदीप ढकालले काठमाडौँ महानगरपालिकामा सूचना प्रविधि तथा सुशासनसम्बन्धी काम गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन योगदान दिएको उल्लेख गरिएको छ। प्रकृति ढकालले सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा र नीति अनुसन्धानका क्षेत्रमा काम गरेको बताइएको छ।
यो उम्मेदवारीलाई रास्वपाको आगामी नेतृत्व चयन प्रक्रियामा नयाँ पुस्ताको सहभागिता र वैकल्पिक राजनीतिक धाराको विस्तारका रूपमा हेरिएको छ।