तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने, स्थानीय भाषामा शिक्षाको नयाँ अभ्यास
दाङ — तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषामा पठनपाठन हुने विद्यालय सञ्चालनका लागि अनुमति दिएको छ। यससँगै स्थानीय भाषामा आधारित शिक्षाको नयाँ अभ्यास सुरु हुने भएको छ।
उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काका अनुसार दाङ जिल्लामा थारू समुदायको उल्लेखनीय जनसंख्या भएकाले थारू भाषामै शिक्षा दिने उद्देश्यसहित विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको हो।
विद्यालयलाई गुठीको रूपमा सञ्चालन गर्ने गरी अनुमति दिइएको उनले जानकारी दिए। स्थानीय रोहित चौधरीले तीन वर्षअघि थारू भाषामा विद्यालय सञ्चालनको अनुमति माग गर्दै निवेदन दिएका थिए। सोही निवेदनमाथि उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठकले निर्णय गरेको हो।
नगरप्रमुख खड्काले यो विद्यालय देशमै स्थानीय भाषामा आधारित शिक्षाको नयाँ अभ्यास भएको दाबी गरेका छन्। उनका अनुसार विद्यालयमा आवश्यक परे उपमहानगरपालिकाले स्वयंसेवक शिक्षकसमेत उपलब्ध गराउनेछ। साथै, सबै थारू समुदायका विद्यार्थी त्यही विद्यालयमा अध्ययन गर्न आए आवासीय सुविधासमेत सञ्चालन गर्न सकिने योजना छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार तुलसीपुर उपमहानगरपालिकामा करिब २१ प्रतिशत थारू समुदायको जनसंख्या रहेको छ, जसको कुल संख्या ३८ हजार ३२५ रहेको बताइएको छ। यहाँ सबैभन्दा बढी क्षेत्री समुदाय ३५.३ प्रतिशत रहेको छ भने थारू समुदाय दोस्रो स्थानमा छ।
यसअघि पनि तुलसीपुरमै रहेको वीरेन्द्र माध्यमिक विद्यालय, भ्यूडहर सुनपुरमा मगर भाषामा कक्षा सञ्चालन भइसकेको छ।
उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीका अनुसार भाषागत कक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गरेर पनि पठनपाठन गर्न सकिने व्यवस्था रहेको छ।