एक्सप्रेस–टीले बालकुमारी सर्भिस सेन्टरको सेवा समय १५ घण्टासम्म विस्तार गर्यो
काठमाडौं — विद्युतीय ट्याक्सी सेवा प्रदायक एक्सप्रेस–टीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ। कम्पनीका अनुसार अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, दैनिक १५ घण्टा सञ्चालन हुनेछ।
यसअघि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म मात्र खुला रहने सर्भिस सेन्टरको समय बढाइएपछि काठमाडौं उपत्यकाका अधिकांश ट्याक्सी चालकले आफ्नो व्यस्त कार्यतालिकाबीच सहज रूपमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्ने कम्पनीको विश्वास छ।
कम्पनीका अनुसार बालकुमारीपछि गोंगबु र भक्तपुरस्थित डेडिकेटेड सर्भिस सेन्टरहरूमा समेत यही विस्तारित समय तालिका चाँडै लागू गरिनेछ। यस कदमले एक्सप्रेस–टीका प्रयोगकर्तालाई अझ सहज र व्यापक सेवा पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।
हाल कम्पनीले पाटन, एकान्तकुना, सानेपा, जोरपाटी, बनस्थली, गुह्येश्वरी, गोंगबु, भक्तपुर, टिकाथली, नेपालगञ्ज, खाडीचौर, चन्द्रागिरी र स्वयम्भू गरी १३ स्थानमा डेडिकेटेड फास्ट चार्जिङ सुविधा सञ्चालन गरिरहेको जनाएको छ।
त्यसैगरी, बालकुमारी, गोंगबु र भक्तपुरस्थित सर्भिस सेन्टरमार्फत नियमित सर्भिसिङ तथा रिपेयर सेवा उपलब्ध गराइँदै आएको छ भने अत्याधुनिक भक्तपुर शोरुमबाट बिक्री सेवा समेत प्रदान भइरहेको कम्पनीले जनाएको छ।
कम्पनीले सेवा समय विस्तारसँगै विद्युतीय ट्याक्सी चालक तथा प्रयोगकर्ताको सुविधा र सेवाको पहुँच थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।