उत्तर कोरियाले नयाँ युरेनियम संवर्धन केन्द्र सार्वजनिक
प्योङयाङ — उत्तर कोरियाले आणविक हतियार निर्माणका लागि आवश्यक इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ, जसले देशको आणविक कार्यक्रमलाई थप तीव्र बनाउने संकेत दिएको छ।
राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले देशको आणविक शक्ति विस्तारलाई तीव्र बनाउने लक्ष्य पुनः दोहोर्याएका छन्। उक्त घोषणासँगै कोरियाली प्रायद्वीपको सुरक्षा अवस्थाप्रति नयाँ चिन्ता थपिएको छ।
दक्षिण कोरियाली सेनाले सार्वजनिक गरिएको संरचनालाई युरेनियम संवर्धन केन्द्रका रूपमा मूल्याङ्कन गरेको छ। दक्षिण कोरियाको संयुक्त सैनिक मुख्यालयले उत्तर कोरियाको आणविक गतिविधिमाथि अमेरिका सहयोगमा निगरानी भइरहेको जनाएको छ, यद्यपि केन्द्रको स्थानबारे विस्तृत जानकारी खुलाइएको छैन।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार नयाँ केन्द्रमा ‘अझ उन्नत प्रविधि’ प्रयोग गरिएको छ। सार्वजनिक गरिएका तस्बिरहरूमा युरेनियम संवर्धनका लागि प्रयोग हुने सेन्ट्रिफ्युजहरूले भरिएको ठूलो हल देखिएको छ।
केसीएनएले किमले बुधबार उक्त केन्द्रको निरीक्षण गर्दै सञ्चालन अवस्था र दीर्घकालीन उत्पादन योजनाबारे जानकारी लिएको जनाएको छ। सो क्रममा उनले आणविक प्रतिरोध क्षमता गुणस्तर र परिमाण दुवै हिसाबले बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
यद्यपि केन्द्रको ठ्याक्कै स्थान, उत्पादन क्षमता वा सञ्चालन सुरु भएको मिति भने सार्वजनिक गरिएको छैन। उत्तर कोरियाले यसअघि पनि सेप्टेम्बर २०२४ मा यस्तै अर्को संवर्धन केन्द्र सार्वजनिक गरेको थियो।
दक्षिण कोरियाली अधिकारी र अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार उत्तर कोरियाले पछिल्ला वर्षहरूमा आणविक संरचना विस्तार र क्षेप्यास्त्र परीक्षणलाई तीव्र बनाएको छ। केही अनुमानले देशसँग १०० भन्दा बढी आणविक हतियार हुन सक्ने संकेत गरेका छन्।
विश्लेषकहरूका अनुसार सन् २०१९ मा उच्चस्तरीय अमेरिका–उत्तर कोरिया वार्ता विफल भएपछि प्योङयाङले वार्ताभन्दा आणविक क्षमता विस्तारलाई प्राथमिकता दिएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसीले हालै उत्तर कोरियाका आणविक स्थलहरूमा गतिविधि उल्लेखनीय रूपमा बढेको बताएका छन्, जसले देशको आणविक कार्यक्रम अझ व्यापक बन्दै गएको संकेत गर्छ।