पाकिस्तानमा पर्यटक बस दुर्घटना, १० जनाको मृत्यु
इस्लामाबाद, २८ जेठ — उत्तरी पाकिस्तानमा पर्यटक बोकेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार इस्लामाबाद–मुर्री एक्सप्रेसवेअन्तर्गत खाजोट क्षेत्र नजिक बसले मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनाअघि बसमा आगलागीसमेत भएको र त्यसपछि सडक किनारमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका सबै यात्रु एउटै परिवारका सदस्य रहेको बताइएको छ। उनीहरू मुल्तानबाट प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्रीतर्फ यात्रा गरिरहेका थिए। बसमा सवारमध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरूले बताएका छन्।
घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको भन्दै पाकिस्तानी अधिकारीहरूले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेका छन्।